केएनपी महिला भलिबललाई शिवम् सिमेन्टको साथ
केएनपी महिला भलिबललाई शिवम् सिमेन्टको साथ

केएनपी महिला भलिबललाई शिवम् सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्टले सह–प्रायोजन गरेको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र शिवम् सिमेन्टबीच मंगलबार सह–प्रायोजन सम्झौता भएको छ । 

सम्झौतामा प्रतिष्ठानकी संरक्षक गमली खड्का र शिवम् सिमेन्टका प्रोजेक्ट हेड निखिल अग्रवालले हस्ताक्षर गरे । सह–प्रायोजन वापत शिवम् सिमेन्टले ५ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने बताइएको छ । सम्झौता १ वर्षको रहेको कार्यक्रममा जानकारी दिइयो । अघिल्लो संस्करणमा पनि शिवम्ले ३ लाख रुपैयाँको प्रायोजन गरेको थियो । प्रतियोगिताका लागि शिवम्ले ३ लाख नगद र २ लाख रुपैयाँबाट बराबरको मञ्चलगायत अन्य व्यवस्थापनमा खर्च गर्ने बताइएको छ ।

शिवम् प्रोजेक्ट हेड निखिल अग्रवालले खेलकुद क्षेत्रका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले प्रायोजनलाई भविष्यमा पनि निरन्तरता दिने जानकारी दिए । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले खेलकुदको विकासका लागि निजी क्षेत्रको आवश्यकता भएकाले शिवम् सिमेन्टले भलिबलमा लगानी गरेर राष्ट्रिय खेलको विकासमा योगदान गरेको भन्दै धन्यबाद दिए ।

त्रिपुरेश्वरको कभर्डहलमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब , एपिएफ क्लब सँगै शिवम् न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई मुख्य–प्रायोज,सह–प्रायोजन र प्रायोजकको नामबाट अवार्ड प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘केएनपी सर्वोकृष्ट खेलाडी’ को उपाधि सहित १० हजार रुपैयाँ प्रदान गरिनेछ । विधागत उत्कृष्टतर्फ ‘शिवम् सिमेन्ट वेष्ट स्पाईकर’, ‘शिवम् सिमेन्ट वेष्ट डिफेन्स’ र ‘शिवम् सिमेन्ट वेष्ट ब्लकर’ को उपाधिबाट एक–एक खेलाडीलाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।

Shivam Cement