शिवम् सिमेन्ट साधारण शेयर जारी गर्ने पहिलो कम्पनी बन्दै-www.tukhabar.com

Link = www.tukhabar.com

 

 

मकवानपुर, २७ असार । मकवानपुरको हटियामा उद्योग रहेको शिवम् सिमेन्टले सर्वसाधारणका लागि शेयर जारी गर्दैछ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि उद्योगले मकवानपुरवासीलाई प्रतिशेयर ३ सयका दरले शेयर जारी गर्न लागेको हो । मकवानपुरबाहिरका नागरिकको लागि भने प्रतिशेयर ४ सय पर्छ ।

 शिवम् सिमेन्ट लिमिटेड प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) जारी गर्ने पहिलो कम्पनीका बन्ने भएको छ । शिवमले स्थानीयलाई प्राथमिकता दिने गरी उत्पादनमूलक सिमेन्ट उद्योगको इतिहासमा नै पहिलो पटक आईपीओ जारी गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई प्रवेश गराउन जारी पुँजीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने र प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने सहुलियतपूर्ण व्यवस्था गरेको छ । बोर्डको उक्त व्यवस्था पश्चात शिवमले अनूमति प्राप्त गरी आईपीओ जारी गर्न लागेको हो ।

शिवमले बोर्डको अनुमति प्राप्त गरेपछि कुल निष्काशनको २ प्रतिशतको दरले ८ लाख ८० हजार इकाई शेयर परियोजना प्रभावित स्थानीय मकवानपुर जिल्लाका बासिन्दाका लागि ३ सय रुपैयाँ र १० प्रतिशत अर्थात ४४ लाख इकाई शेयर सर्वसाधारणको लागि ४ सय रुपैयाँमा जारी गर्ने भएको हो । मकवानपुरका स्थानीयलाई प्राथमिकता दिइएकाले मकवानपुरवासीका लागि यो अवसरको कुरा भएको समेत कम्पनीले जनाएको छ ।

कम्पनीले प्रिमियमसहित कुल २ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । जसमध्ये सर्वसाधारणलाई १ अर्ब ७६ करोड तथा परियोजना प्रभावित स्थानीयको लागि २६ करोड ४० लाख रुपैयाँको आईपीओ बिक्री गर्नेछ ।

आईपीओ सर्वसाधारणका लागि भन्दा स्थानीयका लागि केहि सहुलियत मूल्यमा आउनेछ । आईपीओका लागि प्रिमियम मूल्यसहित सर्वसाधारणले ४ सय रुपैयाँ प्रतिकित्ता तिर्नु पर्ने छ भने स्थानीयबासीले ३ सय रुपैयाँमै पाउने भएका छन् ।

यसका लागि डिम्याट खाता  अनिवार्य नगरिएका कारण स्थानीयलाई थप सहज हुने देखिएको छ । शिवमको आईपीओ किन्न उपयुक्त छ भन्ने कुरा उसको वित्तीय अवस्था सबल हुनुले पनि पुष्टि गर्छ । कम्पनीको वित्तीय अवस्था सवल हुनुका साथै आगामी दिनमा आर्जन गर्ने प्रतिफलको सम्भावनामा एकदम राम्रो भएका कारण लगानीका लागि शिवम् उपयुक्त हुने देखिन्छ ।

शिवमले आर्थिक वर्ष २०७४–७५ मा ९३ करोड लाख रुपैयाँ खुद मुनाफा गरेको छ । चिनियाँ कम्पनी होङ्सीसँगको साझेदारीमा खोलेको होङ्सी शिवम सिमेन्ट नवलपरासीमा चैत्र मसान्तसम्म ३ अर्ब ३६ करोड रुपैयाँ उद्योगमा लगानी देखिएको छ । यस उद्योगले पनि उत्पादन थालेको हुनाले लाभांशको रुपमा भविष्यमा राम्रो मुनाफा आर्जन गर्न सकिने देखिएको छ ।

सन् २००३ मा स्थापना भएको शिवम् सिमेन्ट मुलत सिमेन्ट तथा क्लिंकर उत्पादन र बिक्री गर्ने गर्दछ । विभिन्न व्यावसायिक घराना गरी कुल २० जना व्यक्तिगत प्रमोटर रहेको यस कम्पनीको कारखाना मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका हटियामा अवस्थित छ । कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको दैनिक १९ सय टन क्लिंकर र ३ हजार टन सिमेन्ट ग्राइन्डिङ गर्न सक्ने क्षमता रहेको छ । कम्पनीको सहायक कम्पनी शिवम् होल्डिङ प्राइभेट लिमिटेडमा ८८ प्रतिशत शेयर लगानी रहेको छ ।

 

Shivam Cement